Transformed Youth. Empowered Leadership.

JCI POKHARA LOM CONVENTION & AGM
ARTICLES

व्यक्तित्व विकासमा …. एक दृष्टि – सिनेटर नारायण शर्मा पूर्वअध्यक्ष

11 March 2019

व्यक्ति जन्मदै स्वतन्त्र र ब्यक्तित्व विहीन हुन्छ । उ जन्मे पछि मात्र उसलाई पारिवारिक कूल घराना शब्दले बाधिन्छ । जातीय र साँस्कृतिक धरोहरको रुपमा चित्रीत गरिन्छ । व्यक्तिले आफूले थाहा नपाउने अवस्थामै उ एक किसिमको सामाजिक पहिचानमा हुन्छ । यो स्थितिमा समाजमा भएका हरेक व्यक्तिले सामना गरेका हुन्छन् । समाजमा देखिएका बन्धनहरूले व्यक्तिलाई परिभाषित गरी उसको व्यक्तित्वलाई परिभाषित गर्न खोज्दछ । यो अनायासै व्यक्तिमा आईपर्ने सकारात्मक वा नकारात्मक व्यक्तित्वको परिचय हो । यो अवस्था वा यो बन्धनयुक्त व्यक्तिको व्यक्तित्व जव सम्म कायम रहन्छ तब सम्म उसले आफ्नो व्यक्तित्व परिवर्तन ल्याउन सक्दैन ।

व्यक्तिले आफ्नो व्यक्तित्वलाई अरु कसैको व्यक्तित्वसँग मापन गरेर आफ्नो व्यक्तित्व निर्माण गर्न सक्दैन । माहात्मा गान्धीको व्यक्तित्व अरु कसैको व्यक्तित्व हुन सक्दैन र अरु कसैको व्यक्तित्व महात्मा गान्धीको हुन सक्दैन । नेल्सन मण्डेला, नेहरू, वि.पी. कोइराला, मदन भण्डारी, गगन थापा, योगेश भट्टराई, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल आदि सबै व्यक्तित्व भएका व्यक्तिहरूको व्यक्तित्व एक आपसमा मेल खाँदैन, तापनि यी व्यक्तिहरूलाई उल्लेखनीय योगदान दिने व्यक्तिहरूको रुपमा हामीले ग्रहण गरेका छौं । व्यक्तिको व्यक्तित्व अरु कसैको जस्तो हुँदैन । खाली आफ्नो व्यक्तित्व आफ्नै प्रकारको हुन्छ भन्ने कुरामा सहमत हुनुपर्दछ । व्यक्तिको व्यक्तित्व निर्माणमा केही आधारहरू छन् । व्यक्तित्व निर्माणको पहिलो आधार हो, उसको प्रतिभा ।

कुनै पनि व्यक्तिको एक प्रतिभा मात्र हुँदैन । एक व्यक्ति भित्र अनेक प्रतिभाहरू रहेका हुन्छन् । ती प्रतिभाहरू व्यक्तिमा व्यक्तिले थाहा नै नपाउने गरी श्रृजित हुन्छन् । तिनै प्रतिभाहरूले गर्दा व्यक्तिमा व्यक्तित्वको विकासको क्रम शुरु हुन्छ । व्यक्तिले आपूmमा भएको प्रतिभालाई परिस्कृत गर्ने क्रममा, त्यसमा अभ्यासरत रहने क्रममा उसको क्षमतामा उल्लेखनीय योगदान देखापर्दछ । व्यक्तिले आफूमा सिमित अन्तर वैयक्तिक र अन्तरआत्मीय तहमा रहेका विचारलाई आफ्नो प्रतिभासँग मिश्रण गर्न थाले पछि उसबाट एउटा व्यक्तित्व विकासको कोसेढुङ्गा देखा पर्दछ । जब उसका प्रतिभाहरू आफैमा परिवर्तन र परिस्कृत हुन थाल्दछन् तब उसको योगदान समुदायमा देखिन थाल्दछ । व्यक्तिले आफूसँग आफैलाई तुलना गरेर आफ्नो प्रतिभालाई आफ्नो क्षमताको रुपमा समाजमा पस्कने जमर्को गर्दछ, त्यसबाट उसको व्यक्तित्व निर्माणको पहिलो कदमको थालनी हुन्छ । समुदायमा व्यक्तिले दिएको अभिव्यक्ति र प्रस्तुतिकरणले व्यक्तिको व्यक्तित्वको आधार स्तम्भ तयार हुन्छ ।

व्यक्तिले आफ्नो व्यक्तित्व विकासको आधार स्तम्भ कसरी तयार पार्ने भन्ने कुरामा चनाखो हुन जरुरी छ । व्यक्तिले समुदायमा सपन्न गरेका क्रियाकलापहरू नै उसको व्यक्तित्व विकासको मार्ग चित्रण गर्ने एक मात्र र निर्विकल्प बाटो हो । समुदायमा भइरहेको परिवर्तन र व्यक्तिले अपनाएको विचारको समिश्रण हो । व्यक्तिले व्यक्तिको व्यक्तित्व जुन तयार पार्न निकै वर्ष लाग्छ । तर भत्काउन २ महिना पनि लाग्दैन । यस कारण आफ्नो प्रतिभालाई क्षमतामा परिवर्तन गर्दै व्यापकरुपमा आफ्नो क्षमताको उपयोग घर, परिवार, समाज, समुदाय र राष्ट्रको लागि उपयोग गर्नु पर्दछ । उपयोग विनाको क्षमताले कुनै अर्थ राख्दैन र क्षमता विनाको उपयोगले समयमात्र वर्वाद हुन्छ । समयमा आफ्नो क्षमताको सही उपयोग गर्नु नै व्यक्तित्व निर्माणको अग्रसरता हो । यसको लागि व्यक्तिको उमेर, परिस्थिति र अवस्थाले छेक्न सक्दैन । अर्को अर्थमा, कुनै पनि उमेरका व्यक्तिले अनुकुल वा प्रतिकुल अवस्थामा पनि असामाजिक परिस्थितिमा पनि आफ्नो क्षमतालाई उच्चतम उपयोग गरी समुदायमा क्रियाकलाप सञ्चालन गर्न सक्नु नै व्यक्तित्व निर्माणको पहिलो अग्रसरता हो ।

व्यक्तिको व्यक्तित्व निमार्णमा पहिलो सर्त छ, त्यो हो स्पष्ट लक्ष्य । व्यक्ति कुन विधामा, कुन क्षेत्रमा, कुन माध्यमबाट, केका लागि, के के गर्ने भन्ने लक्ष्य आफै भित्र स्पष्ट हुन जरुरी छ । आफ्नो लक्ष्य स्पष्ट पारेपछि आफैप्रति इमान्दारीका साथ आँफैलाई उपयोग गरी आँफैबाट कार्य सम्पादन गर्नु पर्दछ । अरुको भरमा आफ्नो व्यक्तित्व निर्माण गर्न सकिदैन । आफ्नो लक्ष्यलाई कार्य क्षेत्रमा उतार्न त्यस सम्बन्धमा व्यापक जानकारी लिई आफ्नो ज्ञानको भण्डारलाई उपयोग गर्नु पर्दछ । व्यक्तिले आफूले आर्जन गरेको ज्ञानलाई आफ्नो लक्ष्यसँग एकाकर गर्दै आफ्नो क्षमतामा अभिवृद्धि गर्न सक्षम हुन आवश्यक छ । आफूले पाएको ज्ञानलाई आफ्नो प्रतिभाको माध्यमबाट क्षमता प्रदर्शित गर्दै आफ्नो लक्ष्य अनुरुपको कार्य सम्पादन गर्नु नै व्यक्तित्व निर्माणको दोस्रो खुड्किलो हो । यसको लागि केही उपायहरू छन् ।

व्यक्तिको व्यक्तित्व निमार्णमा हरेक कार्यमा परिवर्तन ल्याउनु पर्दछ । समाज र समुदाय परिवर्तनशिल छ । त्यो परिवर्तन सँगै आफूमा पनि परिवर्तन ल्याउन सक्नु पर्दछ । तपाई जुन समुह वा समुदायमा रहनु भएको छ । त्यसमा भएका सबै कुराहरूमा तपाईको गहिरो रुची र त्यसबाट उत्पन्न हुने असर र नतिजाको बारेमा स्पष्ट ज्ञान हुन जरुरी हुन्छ । समुदायमा व्यक्तिले तपाईकै कुरा किन सुन्ने भन्ने विषयमा तपाई चनाखो हुन जरुरी छ । तपाईबाट समुदायले सिक्न पाएमा मात्र तपाईको व्यक्तित्वमा निखार आउँछ । सिकाउनलाई सिक्नै परयो । र समुदायलाई बाटो देखाउने क्षमतालाई परिवर्तन गर्दै लान सक्नु पर्छ ।

समुदायमा तपाईले दिएको क्षमता, प्रतिभा र योगदानले तपाईलाई एउटा मोडमा ल्याएर उभ्याउँछ तपाईको व्यक्तित्व । यो वेलामा तपाईले आफूसँग भएको क्षमता र प्रतिभा अनि योग्यतालाई अव आफ्नो शक्तिको रुपमा परिवर्तन गर्नु पर्दछ । व्यक्तिले आफूले पाएको ज्ञान र क्षमतालाई भाषण र गाउँमा मात्र सिमित नराखी शक्तिको रुपमा उपयोग गर्दै आफ्नो योगदानलाई निरन्तर अगाडी बढाउन सक्नु पर्दछ । आफ्नो कार्य क्षमताबाट विचलीत हुने कार्यलाई छोडी सदैव अगाडी बढ्ने साहस आर्जन गर्नु आवश्यक छ ।

ब्यक्तिले आफ्नो शक्ति र साहसलाई अगाडि बढाउने क्रममा दुईवटा अवरोधहरू आउँछन् । एक आफ्नै समकक्षीसँग प्रतिस्पर्धा र दुई, आफ्नो अनुकूल वातावरण तयार पार्न नसक्नु । यी दुई कुराले ब्यक्तिको ब्यक्तित्व विकासमा सदैव चुनौती दिईरहन्छन् । यी दुई कुरालाई आफ्नो तहमा ल्याउन समय अधिक लाग्न सक्छ । आफूलाई नसोचेको कुरा आउन सक्छ । यस्तो अवस्थामा आफ्नो आत्मविश्वासमा कमी ल्याउनु हुँदैन । यो अवस्थामा आएर आवेशमा कुनै कदम चाल्नु हुँदैन । समय मेरो पनि आउँछ भनी आफ्नो आत्मविश्वासको साथमा आफ्नो योगदानलाई समुदायमा दिईरहन सक्नुपर्दछ । जसबाट तपाईंले फेरि अरुको विश्वास जित्न सक्नु हुन्छ र ब्यक्तित्व विकासको मार्गलाई सफा बनाउन सक्नु हुन्छ ।

ब्यक्तित्व विकासको लागि सहभागिता प्रमुख श्रोत हो । तपाईंको सहभागिता नै ब्यक्तित्व विकासको मूल मन्त्र हो । ब्यक्तिसँग जतिसुकै ज्ञान, सीप र धारणा भए पनि, योगदान दिन सक्ने शक्ति भए तापनि उसले सहभागिता जनाउन सकेन भने स्वतः ओझलमा पर्न सक्छ । समुदायका ब्यक्तिहरूको हरेक कार्यमा सहभागिता जनाउनु भनेको उनीहरूको विश्वास आर्जन गर्नु हो । समुदायमा विश्वास पैदा गर्नु नै ब्यक्तित्व विकासको लागि एक अग्रगामी कदम हो । यो विश्वास लिन ब्यक्तिको सबै क्रियाकलापमा सहभागिता हुन अनिवार्य जस्तै हुन्छ ।

ब्यक्तिले आफूले सोचेको कुरा, समुदायलाई दिन सक्ने कुरा र समुदायमा आफूले चाहेको कुरालाई कार्यान्वयन गर्न सक्ने क्षमता देखाउन आवश्यक हुन्छ । यसका लागि ब्यक्तिले पहिलो पहल कदमीको कार्य गर्नुपर्दछ । अरुले सोचेको कुरालाई पनि आफ्नै पहलमा भएको हो भन्न र गर्न सक्ने क्षमतामा विकास गर्नुपर्दछ । पहल गर्ने क्षमता बृद्धिको लागि ब्यक्ति सदैव चनाखो हुन जरुरी छ, ब्यक्तित्व निर्माणको लागि ।

ब्यक्तिले समुदायमा आफ्नो ब्यक्तित्व निर्माण गर्ने क्रममा आएका परिवर्तनहरू र समुदायमा ल्याइएको परिवर्तनहरूमा आफू पनि समावेश हुनुपर्दछ । जब तपाईंको कारणले समाज परिवर्तन भयो भने तपाईं पनि परिवर्तन हुन सक्नुपर्दछ । परिवर्तनलाई आत्मसाथ गर्नु आवश्यक छ । हरेक सामाजिक, आर्थिक र नैतिक रूपमा हुने परिवर्तनलाई प्रत्येक पटक ब्यक्तिले सम्वोधन गरी सोही अनुरूप व्यवहारमा परिवर्तन ल्याउनु पर्ने आवश्यकता ब्यक्तित्व विकासको तेश्रो र अन्तिम खुड्कीलो हो । ब्यक्तिको ब्यक्तित्वले गर्दा ल्याएका परिवर्तन र परिवर्तनले ल्याएको कार्यक्रमलाई फेरि ब्यक्तिले नमान्ने परिस्थितिको अन्त्य हुनुपर्दछ । ब्यक्तिको निखारपन ल्याउनको लागि परिवर्तनशील परिस्थितिलाई दृष्टिगत गरी आफ्नो कार्ययोजनाहरू तयार पार्दै क्रमशः लागू गर्नुपर्दछ । जुन तपाईंलाई मात्र थाहा हुन पर्दछ । जीवनमा ब्यक्तित्व विकास गर्ने अवसर सबैलाई प्राप्त हुन्छ तर ती अवसरलाई माथिका कुराहरूसँग अंगिकार गरेमा मात्र ब्यक्तित्व निर्माणमा आफूलाई सफल बनाउन सकिन्छ ।

Leave a Reply